परराष्ट्रमन्त्रीसँग एनआरएन नेतृत्वको भेट

परराष्ट्रमन्त्रीसँग एनआरएन नेतृत्वको भेट



काठमाडौं । आर के शर्माको अध्यक्षतामा घोषित एनआरएन नेतृत्वले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेको छ। आज बिहान एनआरएनको नेतृत्व परराष्ट्रमन्त्रीलाई भेट्न उनको निवासमा नै पुगेको थियो । भेटमा मन्त्री साउदले नयाँ नेतृत्वलाई संस्थामा बृहत एकता गरेर अघि बढ्न निर्देशनसहित शुभकामना दिए। ‘तपाईंहरु संस्थाका सबै पक्षलाई समेटेर बृहत एकता गरी अघि बढ्नुस्’ अध्यक्ष आरके शर्माको नेतृत्वमा गएको एनआरएनका पदाधिकारी र सदस्यहरुलाई मन्त्री साउदले भने।

संघको १० औं महाधिवेशनदेखि नै तीन अध्यक्ष राखेर नेतृत्व चयन गरेको र अहिले ११ औं अधिवेशनले पनि समस्या समाधान नगरी विवाद बढाएको प्रति सम्बन्धित विभागीय मन्त्रीले असन्तुष्टि जनाएका थिए । भेटमा सहभागी एनआरएनका उपाध्यक्ष गंगाधर गौतमका अनुसार, मन्त्री साउदले एनआरएन जुन दिशामा अघि बढेको छ, त्यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै प्रक्रियागत रुपमा सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई निर्देशन दिए ।

भेटमा अध्यक्ष शर्मा, अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ, उपाध्यक्षद्वय गौतम र नारायण आचार्य, महासचिव बुद्धि सुबेदीलगायत अन्य पदाधिकारी र सदस्यहरु सहभागी थिए। भेटघाटका क्रममा सहभागीहरुले अधिवेशनका प्रक्रिया र भएका सहमतिलाई समेत अर्को पक्षले पालना नगरेपछि विधानसम्मत आफूहरुले नयाँ नेतृत्व चयन गरेको परराष्ट्रमन्त्रीलाई अवगत गराएका थिए।

परराष्ट्रमन्त्रीसँग भेट गरे लगत्तै आजै एनआरएन नेतृत्वले अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग पनि भेट गरेको थियो। मन्त्री महतले पनि नयाँ नेतृत्वलाई सबैलाई समेटेर अघि बढ्न शुभकामना दिएका थिए ।

नयाँ नेतृत्वले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ।