काठमाडाैं । एनआरएनको नयाँ नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । आइतबार साँझ एनआरएन नेतृत्व प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेको थियो । अध्यक्ष आरके शर्माको नेतृत्वमा गएको एनआरएनका पदाधिकारीहरुको टोलीले प्रधानमन्त्री दाहाललाई नयाँ नेतृत्व चयन र निर्वाचन सम्बन्धी जानकारी गराएको थियो । सोही क्रममा निवर्तमान अध्यक्षत्रय, निर्वाचन समिति र निर्वाचन अनुगमन समितिले समेत सम्पूर्ण प्रक्रिया स्थगित गरेर १४ दिनभित्र अन्तिम परिणामबारे निर्णय गर्ने सहमति गरिसकेपछि आफुहरु त्यसमा सहमत भएको तर डा. बद्री केसी पक्षले सहमति विपरित एकाएक शपथको कार्यक्रम गरेपछि परिस्थिति बिग्रिएको भन्दै एनआरएन नेताहरुले आफुहरु एकताबद्ध एनआरएनको पक्षमा रहेको र सहमति अनुसार नै अघि बढ्न प्रतिबद्ध रहेको बताएका थिए ।
अध्यक्ष शर्माले एकपक्षले सहमति तोडेपछि निवर्तमान अध्यक्षद्वय कुल आचार्य र रबिना थापासहित विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरुको सहभागितामा विधानसम्मत र प्रक्रियागत ढंगले साधारण सभा सम्पन्न गरी नेतृत्व चयन गरेको प्रधानमन्त्रीलाई अवगत गराए ।
प्रधानमन्त्री दाहालले एनआरएनमा विकसित पछिल्लो गतिविधिलाई नेपाल सरकारले गम्भीरतापूर्वक हेरिरहेको भन्दै निर्वाचन प्रक्रिया र त्रुटीका बारे गम्भीर छानबिन गर्ने बताए । ‘हामीले पछिल्लो गतिविधिलाई निकै गम्भीरतापूर्वक हेरिरहेका छौं । तपाईंहरु विधि र प्रक्रियाभन्दा बाहिर कोही जान पाउनु हुन्न,हामी विकसित घटनालाई गम्भीरतापूर्वक छानबीन गर्छौं । एनआरएन नेपाल सरकारले मान्यता दिएको संस्था हो,तपाईंहरु विभाजित हुँदा हाम्रो मात्र होइन विदेशमा रहेका सबै नेपालीहरुको समेत राम्रो हुन्न’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक पदाधिकारीले भने ।
भेटमा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष कुल आचार्य,अध्यक्षका प्रत्यासी महेश श्रेष्ठलगायत एनआरए उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्षसहितका पदाधिकारी सहभागी थिए । एनआरएनको यो टोलीले आइतवार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेर अधिवेशन र नेतृत्व चयन सम्बन्धी प्रक्रियाका बारे जानकारी गराएको थियो ।
एनआरएन नेपाल सरकारले मान्यता प्रदान गरेको संस्था भएकोले र एनआरएनले नेपालको सम्मृद्धिमा सरकारसंग मिलेर काम गर्नुपर्ने भएकोले नयाँ नेतृत्वले परिचय र एनआरएनका गतिविधि बारे जानकारी गराउन प्रधानमन्त्री,सम्बन्धित मन्त्रीहरु र प्रमूख राजनीतिक दलका नेताहरुलाई भेट गरेको उपाध्यक्ष गंगाधर गौतमले बताएका छन् ।
यसैबीच सोमबार बिहान एनआरएनको यो नेतृत्वले बालुवाटारस्थित एनआरएन सचिवालय पुगी दशैंको पुजाआजासहित कार्यालयमा आफ्नो पदभार ग्रहण गरेको छ ।
प्रतिक्रिया