काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनाेट हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताएका छन् ।
आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले यस्तो बताएका हुन् । उनले पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताए । उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए । क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताए ।
नेपाल सन् २०१४ को विश्वकपमा छनोट भए यता टी-२० विश्वकपमा छनोट हुन सकेको छैन । पछिल्ला तीन छनोट प्रतियोगितालाई बिर्सिएर अहिलेको छनोटमा केन्द्रित हुने कप्तान पौडेलले बताए ।
कप्तान रोहितले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् । उनले भने, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ नेपाली टिममा पाँच जना बलर छन्, कसलाई नखेलाउने भन्ने दुविधा हुन्न भन्ने प्रश्नमा उनले कन्डिसनअनुसार प्लेइङ-११ बारे निर्णय लिने बताएका छन् ।
प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर ठान्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट प्रतियोगिता यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।


प्रतिक्रिया