काठमाडौं । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।
अन्तिम दुई ओभरमा ३६ रन बनाए पनि नेपाललाई त्यो विजयका लागि पर्याप्त भएन ।
अन्तिम ओभरमा विवेक यादवले पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि नेपाललाई अन्तिम ३ बलमा विजयका लागि ७ रन चाहिन्थ्यो । तर उनी चौथो बलमा आउट भए । पाँचौं बलमा अविनाश बोहराले १ रन लिएपछि स्ट्राइकमा आएका करण केसीले लङ अफमा क्याच दिन पुगे ।
विवेकले २४ बल खेली ५ छक्का सहित ३९ रन बनाए ।
नेपालका कुशल भुर्तेलले २६, रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए । आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।
नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।
नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने भएको छ । नेपाल र यूएई बीचको सेमिफाइनल खेल शुक्रबार मुल्पानी क्रिकेट मैदानमा हुनेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्यो ।
प्रतिक्रिया