काठमाडौं । बेलायतस्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्कले जाजरकोट भूकम्प पीडितका लागि सय बोरा चामल उपलब्ध गराएको छ । नेटवर्कले गत शुक्रबार राति गएको भूकम्पमा परी प्रभावित परिवारको सहयोगका लागि उक्त चामल उपलब्ध गराएको हो । भूकम्प प्रभावित क्षेत्रमा संस्थाका प्रतिनिधि सरोज अधिकारी र भरतप्रसाद कोइरालाले नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर राउतलाई उक्त राहत बुझाएका हुन् ।
हेल्प नेपालले विगतमा पनि महाभूकम्प होस् वा कोभिड महामारी, तपाईंहरुको सहयोगलाई पीडित परिवारसम्म आपत्कालीन तथा मानवीय सहयोग पुराउँदै आएको छ। ‘मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर’ भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।
सन् २०१५ मा गएको महाभूकम्प पछि संसारभरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो भने ६ ओटा अस्थायी स्वास्थ्य चौकीको निर्माण तथा ६ ओटा विद्यालयहरुको पुनर्निर्माणमा सघाएको थियो। त्यस्तै दर्जनौं स्वास्थ्य शिविरहरु पनि संचालन गरेको थियो।



प्रतिक्रिया