क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरी निर्माण गर्छौं : प्रधानमन्त्री

क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरी निर्माण गर्छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले भने, ‘सबैभन्दा पहिला तपाईंहरुलाई बधाई छ । तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला । कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला ।’

क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउँदै भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइने उनको भनाई थियो ।

घोषित पुरस्कार वितरणमा ढिलाइ भएकोप्रति आफूलाई पनि नराम्रोल लागेको दाहालको भनाइ थियो । प्रक्रियागत समस्याका कारण त्यस्तो भएको उनको प्रष्टिकरण थियो । ‘हामीले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमिठो लागेको छ,’ प्रधानमन्त्रीले भने, ’हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए । उनले भने, ‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं । कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौं । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं ।’