विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य

विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २/२ विकेट लिए । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीन वटै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना छ । तीन वटै टिमको समान आठ खेलमा ८/८ अंक छ ।

आज श्रीलंकालाई हराएमा न्युजिल्याण्ड अन्तिम चारमा पुग्ने सम्भावना धेरै छ, किनकि पाकिस्तान र अफगानिस्तानको भन्दा न्युजिल्याण्डको रनरेट राम्रो छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

सेमिफाइनलमा पुग्न नसकेको श्रीलंकालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।