ओहायो (अमेरिका) । दशैं सबै नेपालीहरुको साझा चाड । यो चाडलाई विदेशमा रहेका नेपालीहरुले पनि धुमधामसँग मनाउँदै आइरहेका छन् । नेपालीहरु जहाँ पुगे पनि नेपाल विस्तार गर्दै पुगेका छन् । नेपाल चिनाउने क्रममा देशबाहिर रहेका नेपालीहरुले पुर्याउदै आएको योगदान पनि महत्वपूर्ण रहेको छ ।
आफु बसेको ठाउँमा त्यहाँ रहेका गैर नेपाली,विदेशीहरुलाई पनि नेपालको बारे जानकारी गराउने काममा नेपालीहरुले निरन्तर योगदान गर्दै आएका छन् । यसैक्रममा यसवर्षको महान चाड विजयादशमीको अवसरमा अमेरिकाको ओहायोमा पनि नेपालीहरुले विदेशीहरुका साथ दशैं मनाएका छन् । हामीलाई ढीलो गरी प्राप्त समाचार अनुसार, ओहायोको डेटनस्थित एक कम्पनीमा कार्यरत नेपालीहरुले कम्पनीका प्रमूखसहित अन्य विदेशीहरुसँग नेपालीहरुको महान चाड दशैं मनाएका हुन् । केयर सोर्स नामक कम्पनीको मूख्यालयमा सीइओ एर्हार्डट प्रिएटायुरसँगै कम्पनीका भाइस प्रेसिडेन्ट र डाइरेक्टरहरुका साथ नेपालीहरुले टीका, जमारा र ढाका टोपी लगाएर दशैं मनाएका थिए ।
एसिया प्यासिफिक आइल्याण्डर समुदायको सहयोगमा पहिलोपटक भएको दशैंको टीका लगाउने कार्यक्रममा कम्पनीमा कार्यरत ७० जनाभन्दा बढी कर्मचारी सहभागी थिए । कार्यक्रमको समन्वय सोही कम्पनीमा सात वर्षदेखि कार्यरत् नेपाली मूलकी अपला उपाध्यायले गरेकी थिइन् । सोही क्रममा उनले दशैंको महत्वमाथि चर्चा गर्दै यो चाडको बारे विदेशीहरुलाई जानकारी समेत दिएकी थिइन् । दशैं मनाउने जुटेका सहभागी सबैले दुर्गा माताको पुजा समेत गरेका थिए ।
उपाध्याले कम्पनीका प्रमूख कार्यकारी अधिकृतलाई टीका,जमरा, दक्षिणा र ढाका टोपी लगाई दिएकी थिइन् । टीका ग्रहण गरिसकेपछि कम्पनीका प्रमूखले नेपालीभाषामै ‘टोपी म राखुम् ?’ भन्दै आफ्नो डेस्कमा नेपाली ढाका टोपी सजाएर राखेका थिए ।
यो कम्पनीले अमेरिकाका विभिन्न आठवटा राज्यमा आफ्नो शाखा संचालन गर्दै आएको छ । ३५ वर्ष पुरानो यो कम्पनीमा पहिलोपटक यसरी नेपालीहरुले आफुहरुको महान चाड दशैं मनाएका हुन् ।
प्रतिक्रिया