काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।
सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम थप बलियो हुने यू–१९ टिमका प्रशिक्षक जगत टमटाले बताएका छन् ।
यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि नै एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने छन् । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् ।
एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।
एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।
यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।
समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् ।
प्रतिक्रिया