मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण



झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका धेरैजसो पुलको समेत मूल संरचनाको काम सकिएको छ ।

निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेका मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए । अहिलेसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ ।

डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटानकाे अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको प्रमुख गोपालप्रसाद खकुरेलले बताए । बाहुनडाँगीबाट सुनसरी धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको छ । सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगति हुन सकेको छैन ।

१० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका प्रायजसाे योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड बाँकी रहेको उनले बताए ।

सरकारले चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।