चुरोट नदिएको निहुँमा कुटपिट गरी हत्या

चुरोट नदिएको निहुँमा कुटपिट गरी हत्या



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा एक समूहले कुटपिट गर्दा घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

मंगलबार मध्यराति साढे १२ बजेतिर अधिकारीमाथि एक समूहले निर्घात कुटपिट गरेको थियो ।

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।

घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी हुन जाँदा कुटपिटबाट गम्भीर घाइते भएका थिए ।

कुटपिटको घटनामा संलग्न भएका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित १४ जनालाई प्रहरीले लम्कीचुहाबाट पक्राउ गरेकाे छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान भइरहेको छ ।

बिवाहमा एक व्यक्तिले अधिकारीसँग चुरोट मागेका थिए । कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालका अनुसार ती युवकलाई उनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए ।

धेरै संख्यामा रहेका उनीहरूले मदिराले लठ्ठ भएर अधिकारीमाथि निर्घात कुटपिट गरेकाे प्रहरीले बताएकाे छ ।