अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य



काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तन टोलीले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो ।

जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले ठुलो स्कोर खडा गरेको हो । उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेले । उनले १ सय ५२ बलमा ८ चौकाको मदतले सो स्कोर खडा गरेका हुन् ।

ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए ।

जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए । मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए ।

नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो मंगलबार भारतसँग खेल्नेछ ।