यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित



काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १० विकेटको लज्जास्पद पराजित भएपछि यू–१९ एसिया कपमा नेपाल जितविहीन बनेको छ । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।

मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । आकाश चन्द ४ रनमा अविजित रहे । नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन् ।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे ।

नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे । उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए । आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए ।