हिमालयन गुगे अर्गनाइजेसनद्वारा अपर मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

हिमालयन गुगे अर्गनाइजेसनद्वारा अपर मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङकाे लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घिलुङ र चराङ्गमा पुस महिनाको पहिलो र दोस्रो हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

हिमालयन गुगे अर्गनाइजेसन (Himalayan Guge Organization-HGO) द्वारा आयोजना भएकाे उक्त शिविरमा उच्च रक्तचाप, यूरिक एसिड, जोर्नी दुख्ने, कलेजो, पेट, दम–खोकी, पिनास, पिसावसम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिनुकाे साथै सोवा रिग्पा जडिबुटीका औषधीहरू निःशुल्क वितरण गरिएकाे छ । यस्तै विभिन्न सोवा रिग्पा थेरापीमार्फत पनि उपचार गरिएकाे शिविर प्रमुख आम्ची डा. तेञ्जिङ धर्के गुरुङ ‘गुगे’ ले जानकारी दिएका छन् ।

वडा नं. ३ घिलुङमा दुई दिन र वडा नं. १ चराङ्गमा दुई दिन गरि चार दिन शिविर सञ्चालन गरिएकाे थियाे भने लगभग ३०० स्थानीयवासीहरूले सेवा लिएका थिए । चिसाेले कठ्यङ्गिएर बस्नु परेकाे अवस्थामा नि:शुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासीहरू हर्षित देखिएका थिए । घिलुङ र चराङ्ग गाउँ स्वास्थ्य चौकी तथा अस्पतालको सुविधाबाट बन्चित रहेका गाउँँ हुन् ।

आम्ची डा. तेञ्जिङ धर्के गुरुङ ‘गुगे’ को नेतृत्वमा भएकाे उक्त शिविरमा सोवा रिग्पा इन्टरनेशनल कलेजका स्नातक तहका विद्यार्थीहरूको समेत प्रत्यक्ष संलग्नता रहेकाे थियाे ।

हिमालयन गुगे अर्गनाइजेशनले यसअघि सात पटक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ । दुर्गम जिल्लासहित विनाशकारी महाभूकम्प तथा कोभिड–१९ महामारीको समयमा काठमाडौंलगायत विभिन्न जिल्लामा गरी हजारौं बिरामीको निःशुल्क उपचार गर्नुका साथै सोवा रिग्पा जडिबुटीका औषधीहरू वितरण गरिसकेको छ ।

हिमालयन गुगे अर्गनाइजेशनका संस्थापक अध्यक्ष आम्ची डा. गुरुङ सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष, सोवा रिग्पा इन्टरनेशनल कलेजका संस्थापक निर्देशक समेत रहेका छन् । दुई दशकदेखि सोवा रिग्पा चिकित्सा सेवामार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउँदै आएका आम्ची डा. गुरुङको पाँचौं पुस्ता यो सेवामा आबद्ध छ ।

आफैं उपचार गर्न सक्ने मानिस शहर केन्द्रित हुने क्रम बढिरहेको अवस्थामा सरकारी लगायत अन्य कुनै स्वास्थ्य उपचार नपाइरहेका स्थानीयबासीलाई लक्षित गरी यो शिविर राखिएको र आगामी दिनहरुमा पनि यस्तै शिविरकाे आयाेजना गरिने आयोजकको भनाइ रहेको छ ।