दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ बालविवाह मुक्त वडा घोषणा

दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ बालविवाह मुक्त वडा घोषणा


ग्लोब नेपाल
54
Shares

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । जिल्लाकै पहिलो वडाका रुपमा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ उकुलाई मंगलवार एक कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

पछिल्लो समय बालविवाह हुनै छोडेपछि वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा नम्बर ६ का वडाध्यक्ष गोकर्ण सिंह धामीले बताए ।

मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्यका लागि स्थानीय रणनीति २०७६ लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् ।

मालिकार्जुन गाउँपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख आरती शर्माका अनुसार पालिकामा बालविवाह अन्त्य सम्बन्धी रणनीतिको मस्यौँदा बनाउँदाका बखत २०७३ बैशाख देखि २०७५ चैतसम्ममा ३१ प्रतिशत बालविवाह हुने थियो । जसमा १ सय ३ जना केटी र २३ जना केटाले उमेर नपुग्दै विहे गरेको तथ्यांकले देखाएको उनले बताए। यस्तै वडा नम्बर ६ मा मात्रै १३ जनाले बालविवाह गरेको पाइएको थियो ।

बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा सरोकारवाला पक्ष र उपस्थित सहभागिलाई बालविवाह विरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गराइएको छ ।

सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहलाई कानूनी मान्यता अनुसार सामाजिक चेतना, जाँगरण र प्रतिवद्धताका साथ मालिकार्जुन गाउँपालिकालाई २०८२ भित्र बालविवाह मुक्त पालिका बनाउने रणनीतिक योजनाका साथ आगाडी बढिरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताए ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष गोकर्ण सिंह धामीले बालविवाह मुक्त वडा घोषणापछि पनि कार्यान्वयन गर्नमा बाधा गर्ने नै दोषी हुने भएकाले बालविवाह मुक्त वडामा कसैले बालविवाह गरे वा गराए कानूनसम्मत कारबाही भोग्नुपर्ने बताए । आठ वडा रहेको मालिकार्जुन गाउँपालिकामा बुधवार वडा नम्बर २ लाई पनि बालविवाह मुक्त वडा घोषणा गरिदैछ ।