डोटी लगायत सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

डोटी लगायत सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै


ग्लोब नेपाल
81
Shares

डोटी । आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।

यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।

कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । सिलगढी, दिपायल लगायत डोटीका विभिन्न बजारमा केही दीन पहिला देखी नै यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।

आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् । विशेष गरेर पुस पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भक्काने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ ।

पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि अर्थ्याइएको पाइन्छ । घर घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडिचुँडी खाने चलन छ ।