यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो ।

पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशयी भयो । नेपालका लागि उत्तम थापामगरले अर्धसतक बनाए । ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् ।

दिपेश कँडेलले ३१ र ओपनर अर्जुन कुमालले २१ रनको योगदान गरे । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन् ।

पहिलो विकेटको रुपमा तिलक भण्डारी ७ रनमा आउट भएको नेपालको इनिङ्समा आकाश त्रिपाठी ६ र कप्तान देव खनाल शुन्य रनमा पेविलियन फर्किएका थिए ।

गुलसन झा १ रनमा आउट भएको खेलमा बिशाल बिक्रम केसी १, विपिन रावल शुन्य रनमा पेविलियन फर्किएका थिए ।
आकाश चन्द ५ रनमा आउट भए । सुबास भण्डारी ८ रनमा अविजित रहे ।

पाकिस्तानका मोहम्मद जिसानले ६ तथा आमिर हसनले २, उबेद साह र अली अस्फनले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।

समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।