पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित

पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भएकाे हाे ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए । मोहम्मद जिसानले आठ बलमा दुई चौका र छक्कासहित अविजित २० र साहजैब खानले १५ रन थपे ।

नेपालका गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको थियो ।

नेपाली टिमको खातामा उत्तम मगरले ५१ रन थपे । दबाबपूर्ण अवस्थामा सुझबुझपूर्ण ब्याटिङ गरेका उनले ७६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । ४६–६ को नाजुक अवस्थामा उत्तमले छैटौँ विकेटका लागि दीपेश कँडेलसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेशले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि टिमको खातामा एक रनमात्र थपे ।

नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रनमात्र खर्चिए । अमिर हसनले दुई विकेट लिँदा अली असफान्ड र उबैद साहले समान एक विकेट लिए ।

आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।