सर्लाहीमा गोली चल्यो, एकजना गम्भीर घाइते

सर्लाहीमा गोली चल्यो, एकजना गम्भीर घाइते



काठमाडौँ । सर्लाहीमा प्रहरीले चलाएकाे गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो ।

सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।

स्थिति तनाबग्रस्त भएपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएकाे छ ।

नगारपालिकामा रहेको नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।

१५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा छलफल थियो । त्यसक्रममा पाँच दलीय गठबन्धनले नगर बन्द गराएर विरोध सुरु गरेकाे हाे ।

नगरपालिका कार्यालयमा छलफल सुरु हुनेबित्तिकै बाहिर आन्दोलन सुरु भएर ढुंगामुढा गरिएकाे थियाे ।

आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनीसमेत गरेका छन् ।