काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सात वर्ष पुरानो एक अभिव्यक्तिलाई लिएर हालिएकाे अवहेलना मुद्दामा उनलाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भन्दै सफाइ दिएको हो । इजलासले रिट निवेदकले माग गरेबमोजिम मुद्दामा प्रतिवादी बनाइएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलना गरेको नदेखिएको निर्णय सुनाएको हो ।
सो मुद्दामाथि असोज ७ गते सुनुवाइ सकिएको थियो । त्यसपछि मंसिर १८ गते निर्णय सुनाउने भनिए पनि आजलाई सारिएको हो ।
द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षडयन्त्र भएको भन्दै द्वन्द्वकालका मुद्दा व्यूँताए विद्रोही गर्ने चेतावनी दिएका थिए । शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिपछि कानुन व्यवसायी त्रिपाठीले प्रचण्डलाई विपक्ष बनाइ अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए ।


प्रतिक्रिया