एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)

एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)



काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् ।

एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी एमालेले बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अपाङ्गता क्लस्टरबाट विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन् । अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने भएका हुन् ।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन् । अपाङ्गता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएकी छन् ।

लुम्बिनीमा महिला तर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार हुनेछन् । कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

त्यसैगरी कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन् । दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको हाे ।

सुदूरपश्चिम प्रदेशमा पनि एमालेले तीनै सिटमा उम्मेदवार टुंग्याएको छ । महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको हाे ।

१९ सिटका लागि ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।