ओलीले बालुवाटार गएर राष्ट्रियसभामा हामीलाई जिराे बनाइदिऊँ भनेछन् : माधव नेपाल

ओलीले बालुवाटार गएर राष्ट्रियसभामा हामीलाई जिराे बनाइदिऊँ भनेछन् : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने बताए ।

अध्यक्ष नेपालले ओली बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रियसभामा एकीकृत समाजवादीलाई जिराे बनाइदिऊँ भनेकाे दाबी गरे । उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन । कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन ।’

उनले विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

उनले वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको बताए । नेता नेपालले अहिलेको अवस्थामा अन्य विकल्प नभएकाले बेठीकलाई बेठीक भनेर अघि बढ्ने बताए ।