नाउपाको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

नाउपाको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत



टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । टीकापुरमा जारी महाधिवेशनमा निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा दल बनाएका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् ।

महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले निर्वाचनको सम्भावना बढेर गएको छ । उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ । महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् ।