प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली राष्ट्रपति भेट्न शीतल निवासमा

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली राष्ट्रपति भेट्न शीतल निवासमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । शुक्रबार शितल निवास पुगेर उनीहरूले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान शुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए । राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको जनाइएको छ ।