राष्ट्रियसभा निर्वाचन : मंगलबारदेखि निर्वाचन आचार संहिता लागू

राष्ट्रियसभा निर्वाचन : मंगलबारदेखि निर्वाचन आचार संहिता लागू



काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।

आचार संहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन । केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् ।

राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।