गोदावरीधाममा मकर मेला सुरु

गोदावरीधाममा मकर मेला सुरु



अत्तरिया (कैलाली) । कैलालीको गोदावरी नगरपालिका– ५ स्थित गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला सुरु भएको छ। गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए । ‘मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ । खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

‘मेलामा बाह्रराशि, नवग्रह, २७ नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ’, अध्यक्ष जोशीले भने, ‘ ग्रहपूजा तथा ग्रहशान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिनेछ ।’

मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने उनको भनाइ थियो । माघेसंक्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए ।

गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशि दर्शन मकरमेला लाग्ने गर्दछ । प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ ।