काठमाडौँ । मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकेकाे हो ।
त्यसैगरी सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।
त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ । यसै गरी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त भएका छन् ।
सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई पनि नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका –६ घर भएका पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
यसै गरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले उक्त विधेयक गृह मन्त्रालयलाई संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।
यस्तै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।
४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।
५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।


प्रतिक्रिया