काठमाडौं । प्रहरीले ललितपुरबाट चोरी मुद्दामा पटक पटक सजाय भोगिसकेका एक युवक पुनः चोरीको अभियोगमै पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई सानेपा, झम्सीखेल र भनिमण्डल क्षेत्रका चारवटा घरमा चोरी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत हुन् ।
बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराबाट पक्राउ गरेको हो । उनले पछिल्लो पटक झम्सिखेलको ठाकुरराज ढकालको घरबाट २७ तोला सुनचाँदीको गहनासहित अन्दाजी ३७ लाख १६ हजार रुपैयाँको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै झम्सीखेलकै सुप्रिया राईको कोठाबाट सुनका गहनासहित २४ लाख ७६ हजारको सामान चोरेको प्रहरीले जनाएको छ । सानेपामै जर्मन नागरिक डेनियल फक्सको डेरा र भनिमण्डलमा नर्वेजियन नागरिक बस्ने घरमा पनि चोरी गरेको प्रहरीको भनाइ छ । चारवटै घटनामा उसले आफ्नो संलग्नता स्वीकार गरिसकेको छ’ एसएसपी शेखर खनालले जानकारी दिएका छन ।
बस्नेत यसअघि ९ पटक चोरी मुद्दामा र ३ पटक अभद्र व्यवहार मुद्दामा कारबाही भोगिसकेको व्यक्ति हुन् । उनीविरुद्ध ललितपुरमा ४, दोलखामा ३, काठमाडौं र काभ्रेमा २–२ र भक्तपुरमा एउटा मुद्दा चलेको थियो ।
बस्नेतले चोरी गर्न धेरैजसो विदेशी बस्ने घरलाई लक्षित गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यस्तै मान्छे नबस्ने, बाहिरबाट ताला लगाएको, रातीमा बत्ती नबलेको घर खोजेर चोरी गर्न प्रवेश गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
‘एक्लै प्रवेश गरेर चोर्ने, चोर्दाखेरि त्यस्तो घर टार्गेट गर्ने जसले गर्दा कुनै अवरोध नहोस्’, एसएसपीले खनालले भने, ‘भित्र प्रवेश गर्दा एउटा लुगा लगाउने र फर्किँदा अर्कै लुगा लगाउने गरेको पाइएको छ, मान्छेले नचिनोस् भनेर ।’


प्रतिक्रिया