एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाईल ब्लड बस हस्तान्तरण

एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाईल ब्लड बस हस्तान्तरण


ग्लोब नेपाल
216
Shares

काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ ।
संघले विहीवार जनकपुरमा आयोजित एक समारोहकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले मधेश प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहं र नगरप्रमुख मनोजकुमार शाहको उपस्थितिमा स्थानीय नेपाल रेडक्रस सोसाईटी धनुषालाई सो बसको चावी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले जानकी मन्दिरले गर्दा मधेश प्रदेश पुन्यभूमि रहेको बताए । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने विश्वास गरे । उनले स्थानीय निकायबीच समन्वय गरेर बस संचालन गर्न आग्रह गरे । कार्यक्रममा उनले विदेशमा सिकेको सिप ज्ञान र पुँजीलाई नेपालमा ल्याउन संस्था तत्पर रहेको बताए । उनले विदेशमा सिकेको ज्ञान र सिप नेपालको विकासको लागि लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहले एनआरएनएले प्रदान गरेको मोबाइल ब्लड बसको सहयोगको लागि धन्यवाद दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसँग आत्मिय सम्बन्ध रहेको बताए । उनले संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत मधेश प्रदेशबाट विश्वभरका बिभिन्न देशमा पुगेका नेपालीहरुले संस्थामा ठूलो योगदान गरेको चर्चा गरे । संघको परोपकार विभागका संयोजकसमेत रहेका डा. शर्माले विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको बताए ।

नगरप्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई संघकी उपाध्यक्ष रोजिना प्रधान, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेशप्रसाद सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापा, सचिव पारशमणी पोखरेल, सल्लाहकारहरु टिभी कार्की, अतुल कोइराला, भवानी ओली, यूरोप पूर्वसंयोजक सन्तोष भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, कुनाल मिश्र लगायतको उपस्थिति थियो ।