शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन

शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सँगै जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसमेतलाई राखेर देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

सुरक्षा निकायका प्रमुखले आसन्न माघ ११ गतेको राष्ट्रियसभा चुनावको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले सञ्चालित गतिविधिलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।