काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार विश्वभर रहेका नेपालीहरुको हक अधिकार सुरक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । युगाण्डाको कम्पालामा नेपाली समूदायले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालीहरुलाई आवश्यक पर्ने अनलाइन राहदानी, श्रम सम्झौता,भिजिट भिसाजस्ता विषयमा सरकार गम्भीर रहेको बताए ।
विदेशमा लाखौंको संख्यामा रहेका नेपालीहरुको सुविधाका लागि नेपाल सरकार, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाहरुबीच विभिन्न चरणमा छलफल भैरहेको पनि उनले बताए । त्यसबखत परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विदेशमा रहेका नेपालीहरुले भोग्ने समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको बताएका थिए ।
कार्यक्रममा युगान्डामा रहेका नेपाली समुदायले भोगेका विभिन्न समस्याहरु उल्लेख गर्दै तिनको समाधानको लागि सरकारको ध्यानाकर्षण गरेका थिए । प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन गणतन्त्र युगाण्डाको राजधानी कम्पाला पुगेका हुन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो विहीबार कतार एअरलाइन्सबाट युगान्डाका लागि प्रस्थान गरेका हुन् । नाम सम्मेलन आज माघ ५ र ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौं आइपुग्नुहुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया