काठमाडौं । संविधानसभा सदस्य तथा पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।
सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप ४ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्टार धनबहादुर कार्कीले जानकारी दिए ।
विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि २१ माघमा अर्को इजलास तोकिएको छ । उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।
१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका प्रवक्ता कार्कीले बताए ।
उनी सांसद भएकै बेलामा गैरकानुनी सम्पत्तिआर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि गैरकानुनी सम्पत्तिआर्जनको अभियोगमा पनि अनुसन्धान अघि बढाएको थियो । तर राजनीतिक प्रभावका कारण अनुसन्धान टुंगोमा पुग्न सकेन र अख्तियारले फाइल तामेलीमा पठाएको थियो ।


प्रतिक्रिया