न्यूरोडका व्यापारी आज पनि आन्दोलित

न्यूरोडका व्यापारी आज पनि आन्दोलित



काठमाडौं । न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यापारीहरू आज पनि आन्दोलित भएका छन् । पसल बन्द गरेर उनीहरू बिहान ११ बजेबाट विरोधमा उत्रिएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको व्यापारीहरुले बताएका छन् ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।