नेपालमा लगानी गर्न नीतिगत समस्या रहेछ : चिनियाँ नेता हायान

नेपालमा लगानी गर्न नीतिगत समस्या रहेछ : चिनियाँ नेता हायान



काठमाडौं । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपालमा लगानी गर्न नीतिगत समस्या रहेको बताएको छ ।

आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा उपमन्त्री हायानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आतुर रहे पनि लगानीका लागि नीतिगत समस्या रहेको बताएकी हुन् ।

‘नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताले चाहिरहेका छन् । तर, लगानीका लागि नीतिगत समस्या रहेछ । मैले हिजो मात्रै नेपालमा रहेका चिनियाँ लगानीकर्तासँग कुरा गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालका परियोजनाहरू कोभिडका कारण मात्र होइन, विभिन्न कारणले ढिला हुने गरेका रहेछन् ।’

कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका नेता राम कार्की, रास्वपाका सांसद शिशिर खनाल लगायत नेताहरू सहभागी छन् ।

हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् । 

नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् । केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् । 

क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ । नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् । 

हायानले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् । ‘राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍यायो,’ उनले भनिन्, ‘मेरो भ्रमण पनि सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन हो । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ ।’

उनले नेपालका लागि चिनियाँ राजदूतले मिहिनेत गरेर जनतासँगको सम्बन्धलाई अगाडि बढाइरहेको पनि बताइन् । ‘नयाँ परिस्थितिमा नेपाल र चीनबीच कस्तो सम्बन्ध कस्तो हुनुपर्छ ? अनि कसरी अगाडि बढ्नुपर्छ ? मेरो भ्रमणको उद्देश्य यी दुई विषयमा हुन्,’उनले भनिन् ।