एनसेल छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

एनसेल छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौं । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

समिति संयोजक टङ्कमणि शर्माले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मंसिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।