आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कप

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कप


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेको छ । आज शनिबार पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि हात पारेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन ।

जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै आफ्नो लक्ष्य पुरा गरेको हो । पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल सकाएका थिए ।

आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट भएका थिए । पुलिसले ओपनर दीलिप नाथलाई ७ र कुशल भुर्तेललाई १४ रनमै गुमाएको थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र अमित श्रेष्ठले ५९ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । अमित ५१ बलमा २ चौकासहित २८ रनमा आउट भएका थिए ।

अमितको ८ रनमा विवेक यादवले क्याच छाडेका थिए । अर्जुन ५८ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १–१ विकेट लिएका थिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाउन सफल भएका थिए । एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए ।

जितेन्द्र ११ बलमा २ रनमा नट आउट भएका थिए । स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्यक्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । चोभार एन्डबाट आएका स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखेका थिए । पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरेका थिए ।

भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरेका थिए । सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो । दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए । करण केसीको बलमा उनी क्याच आउट भएका थिए ।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए । उनी सागर ढकालको बलमा एलबीडब्लू आउट भएका थिए । बसिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर अजुन साउदबाट १ रनमा क्याच आउट भएपछि आर्मी २०.४ ओभरमा ६०–६ को अवस्थामा पुगेको थियो ।

ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए । उनले ६६ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए ।