संसद‍्मा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई ओलीको निर्देशन

संसद‍्मा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई ओलीको निर्देशन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । दुईदिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएका हुन् ।

ओलीले प्राविधिक र बैचारिक स्पष्टताका साथ बैठकमा सहभागीता जनाउन निर्देशन दिए । उनले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

संसद्‌मा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भन्दै उनले यस्ता शब्दावली हटाउन लगाउनु जरुरी नभएको पार्टीका सांसदहरूलाई सचेत गराए । आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसद्‌मा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि सांसदहरूको ध्यानाकर्षण गराए । गल्ती बोल्नेका कुरा संसद्‌मा विरोध गरे पुग्ने भएकाले रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले संसद्‌मा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाइपाऊँ भन्नु स्वाभाविक हुने उल्लेख गरे । अरूले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने उनले बताए ।

“रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि, त्योचाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाइपाऊँ भनेर निजले भन्दाखेरि एउटा कुरा हो,” उनले भने, “अर्काले उसको गल्ती किन सच्याइदिने ?”

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिने व्यवस्था छ । त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले हटाउन माग गर्नु उपयुक्त हुने ओलीले स्पष्ट पारे ।