प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर

प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर



काठमाडौं । प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर सुरु गरिँदै छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको हो ।

बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ ।

यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ । गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे ।

आउँदो संसद् अधिवेशनलाई ती सबै प्रश्नको जवाफ दिने गरी परिणामुखी बनाउन उनले सांसदसित अपिल गरे । “हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो,” उनले भने ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि गृहकार्य गरेर सभामुख र संसद् सचिवालयले कार्यतालिका लागु गर्ने अवस्थामा आएको भन्दै बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।