मैनालीद्वारा एक सय दुई लिटर रगत दान

मैनालीद्वारा एक सय दुई लिटर रगत दान


ग्लोब नेपाल
54
Shares

चितवन । विश्व रक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले २ सय छ पटक रक्तदान गरेका छन् । अर्थात् मैनालीले अहिलेसम्म एक सय दुई लिटर रगत दान गरिसकेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् ।

मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताए । उनका अनुसार उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् ।

उनले भने, “मैले विश्वका छवटै महादेशका २० देशमा दुई सय छ पटक रक्तदान गरेको छु, मेरो आफ्नै रगतले मात्रै छ सय १८ जनाको ज्यान बचाउन सहयोग हुन्छ ।”

उनले सन् १९८६ मा काठमाडौँमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताए । १९ वर्षको उमेर हुँदादेखि रगत दान गर्दै आएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा दुई सय छ पटक रक्तदान गरिसकेका छन् ।

उाले भने, “पहिलो पटक रक्तदान गरिसकेपछि काठमाडौँको प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ, आजसम्म दान गरेको रगतको परिणाम जोड्दा ए१ सय २ लिटर हुन आउँछ ।”

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्घ मैनाली हाल अमेरिका बस्दै आएका छन् । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । उनले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका छन् ।