काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु गरेको छ ।
झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारणलाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारणलाइनलाई एक–आपसमा आबद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवाखण्ड सञ्चालनमा आइसकेको छ। वसन्तपुर–ढुंगेसाँघुखण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ ।
हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको टावर निर्माण शिलान्यास गरिएको छ ।
करिब १९ किलोमिटर प्रसारणलाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ । उक्त प्रसारणलाइनबाट दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको विद्युतलाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए ।
आयोजना प्रमुख गौतमका अनुसार, कोशी र काबेली करिडोर प्रसारणलाइन एक–आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ ।
यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ। तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ ।
नेपाल सरकारको करिब रु. एक अर्ब २० करोड लगानीमा आर्थिक वर्ष ०७५/७६ मा आयोजना सुरु गरिएको हो । प्रसारणलाइन निर्माणका लागि ०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई–दुईवटा लाइन बे निर्माण गरिनेछ ।
यसका अतिरिक्त स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिनेछ। लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइनेछ । आयोजनाअन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष ०८१/८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।


प्रतिक्रिया