काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा दाहालले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताए ।
बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा राखेका थिए । सांसदहरूले माओवादी केन्द्रलाई गठबन्धनको मुख्य घटक कांग्रेसले पटक-पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका हुन् ।
राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क सांसदहरूकाे छ ।
सांसदहरूका कुरा सुनेपछि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष पार्टीले पाउनुपर्ने विषयमा गृहकार्य गरिरहेको सांसदहरूलाई बताएका थिए । सत्तारुढ गठबन्धनका अन्य राजनीतिक दलहरूसँग पनि उक्त विषयमा छलफल भइरहेको कुरा दाहालले संसदीय समितिमा जानकारी दिएका थिए ।
फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया