संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् । 

राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ । अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरु स्वागतयोग्य रहेको बताएका छन् ।

उनले भने, ‘अहिले सरकारले भ्रष्टाचारविरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा जुन पहल अगाडि बढाइरहेको छ । त्यो पहललाई तिव्र बनाउनका लागि संसदको तिखो खबरदारी, सहयोग र साथ आवश्यक भएको ठानेको छु’ उपमहासचिव शर्माले भने ।

भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ दिन नहुने उनको भनाइ छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयाग गर्नुपर्छ’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘उक्त घोषणा सही ढंगले कार्यान्वयन हुन्छ भने भन्ने विश्वास छ ।’