काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र मन्त्री फेर्ने कुरा बाटाघाटामा गर्न नहुने बताएका छन् । मन्त्री फेर्ने हो भने पनि फेरिहाल्नुपर्ने उनको भनाइ थियो ।
‘प्रधानमन्त्री वा मन्त्री कसैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नु हुँदैन,’ नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘मन्त्री नै फेर्नु छ भने जुनदिन फेर्ने हो फ्याट्ट फेरिहाल्ने हो, मिडियालाई खुसुक्क थाहा पनि नदिने हो ।’
नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरे ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले याे विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् ।
प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाइ थियो ।
उनले राष्ट्रियसभा अध्यक्षको चयनमा सत्तारुढ दलहरूबीच विवादको विषय नबन्ने जिकिरसमेत गरे ।
सत्तारूढ नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाले हालै सत्ता गठबन्धनको समझदारीअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको हो भनेका थिए ।
कांग्रेस नेताहरूको यस्तो अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘स्वतन्त्र सांसद’ लाई प्रधानमन्त्री बनाउन नहुने बताएका थिए ।


प्रतिक्रिया