बागमती प्रदेशमा धान उत्पादनमा गिरावट

बागमती प्रदेशमा धान उत्पादनमा गिरावट



हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो । 

यस वर्ष प्रदेशभर १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन मात्र उत्पादन भएको छ । गत आर्थिक वर्षमा भने १ लाख १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष प्रदेशभरको धान उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ ।

धान उत्पादनमा सबैभन्दा धेरै ह्रास चितवन र मकवानपुर जिल्लामा आएको छ । बागमती प्रदेशको कुल धान उत्पादनमा चितवनको २५ प्रतिशत र मकवानपुरको १५ प्रतिशत योगदान रहेकाले यी दुई जिल्लामा उत्पादन घट्दा समग्र प्रदेशमा प्रभाव परेको हो । चितवनमा यस वर्ष गत वर्षको तुलनामा १९.३४ प्रतिशतले र मकवानपुरमा १२.३७ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । धान उत्पादनमा गिरावटका लागि निर्देशनालयले धानबालीमा लाग्ने विभिन्न रोगहरू र अनुकूल वातावरण नहुनुलाई जिम्मेवार ठहर्‍याएको छ ।

विशेषगरी कालोपोके रोग र धान पसाउने समयमा धेरै वर्षा हुँदा पनि उत्पादनमा असर परेको छ। यद्यपि, बागमती प्रदेशकै केही जिल्लामा भने यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा सामान्य वृद्धि भएको छ । सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशतले बढी धान उत्पादन भएको तथ्याङ्कले देखाउँछ । तर, प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ ।