कांग्रेससँगको गठबन्धन लाभदायक भएन : प्रधानमन्त्री प्रचण्ड

कांग्रेससँगको गठबन्धन लाभदायक भएन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन लाभदायक नभएकाे बताएका छन् ।

पार्टीकाे केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताए ।

उनले भने, ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन । कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो । तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा भने पुगेको उनको धारणा थियो ।

प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएको समेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारितापूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक पटक धक्का मिलेको छ’, प्रचण्डले भने । राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो ।

अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने समेत प्रचण्डले बताएका छन् ।