क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

अनिल साह र भीम सार्कीकाे शानदार शतक



काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

आजको खेलमा नेपाललाई जिताउन ओपनर अनिल साह र भीम सार्की नायक बने । दुवैले शानदार शतक प्रहार गरे ।

साह १ सय २४ बलमा १ सय १२ रन तथा सार्की १२९ बलमा १ सय १ रन बनाएर नटआउट रहे । पारीमा साहले १२ चाैका र २ छक्का हिर्काए । सार्कीले ११ चाैका र एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल १४ बलमा तीन चाैकाकाे मद्दतले १३ रन बनाएर आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ स ३२ रन बनाएकाे थियाे । एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नेपालका हेमन्त धामीले तीन विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर तीन विकेट लिएका हुन् । नेपालका लागि कुशल मल्लले दुई विकेट लिए । १० ओभर बलिङ गरेका मल्लले १ ओभर मेडन राख्दै ३८ बल खर्चिए ।

त्यस्तै, १० ओभर बलिङ गरेका ललित राजवंशीले एक ओभर मेडन राख्दै ३१ रन खर्चिएर १ विकेट लिए । ८ ओभर नै बलिङ गरेका आकाश चन्दले ५१ रन खर्चिएर १ विकेट हात पारे । क्यानडाका एक खेलाडी रनआउट भए ।

ब्याटिङतर्फ क्यानडाका नवनीत धलिवालले अर्धशतकीय पारी खेले उनले ८२ बलको सामना गर्दै ५ चौकाको मद्दतले ५० रन जोडे। त्यस्तै निखिल दत्तले ४५, सिरमान्था विजयरत्नेले २२, श्रेयस मुब्बाले २५ रन जोड्दा साद विन जाफरले नटआउट ३१ रन जोडे । एरोन जोनसन ४ रनमा आउट हुँदा निकोलस किर्तोनले ३ र डिलोन हेलिगरले ४ रन जोडे भने साहिद अहमजाइ ५ रनमा नटआउट रहे ।

यसअघि पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।