शाखा कार्यालयहरू बन्द गर्ने भ्रामक समाचारप्रति एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण

शाखा कार्यालयहरू बन्द गर्ने भ्रामक समाचारप्रति एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण



काठमाडौं । एनआईसी एशिया बैंकले सोमबार एक विज्ञप्ती जारी गर्दै आफ्नो कुनै शाखा बन्द नहुने जानकारी गराएको छ । ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुन सम्पूर्ण सरोकारवालाहरूमा बैंकले अनुरोध गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।