माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 



काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् । 

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे । प्रचण्डले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकोप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यहीकारण माओवादीहरू पुनः संकल्पित हुनुपर्ने बताए ।

“२९औँ जनयुद्ध दिवस मनाउँदै गर्दा नयाँ संकल्प गर्नुपर्नेछ । जनयुद्ध नेपालको इतिहासको महान दूरगामी पहल थियो, छ र रहिरहनेछ,” अध्यक्ष प्रचण्डले भने, “त्यतिबेला पनि तिथिमिति तोक्ने, टिक्न सक्दैन भन्ने नेताहरू हुनुहुन्थ्यो । पत्याउन सकेका थिएनन् । अध्ययन गरेर नै तयारी गरिएको थियो ।”

उनले युद्धका क्रममा साना–साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । “कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं,” उनले भने, “लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेशअनुसार निर्णय गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।”

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताए । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।