कांग्रेस बैठक : तीन दस्तावेजमाथि भोलि र पर्सि छलफल

कांग्रेस बैठक : तीन दस्तावेजमाथि भोलि र पर्सि छलफल



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि भोलि र पर्सि छलफल हुने भएको छ ।

७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव बिहीबार केन्द्रीय समितिमा पेश भएको छ ।

देशको आर्थिक अवस्थाबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा जानकारी गराए । बैठकमा सरकारका तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेस गरेको उनले जानकारी दिए ।

बैठकमा आज प्रस्ताव मात्रै पेस भएको र शुक्रबारबाट प्रस्तावमाथि छलफल हुने प्रवक्ता एवं अर्थमन्त्री महतले बताए ।  उनले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताए ।

प्रवक्ता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा केही सीमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताए ।

आज प्रस्तुत तीन दस्तावेजमाथिबारे भोलि र पर्सि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने बताइएकाे छ ।