आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए ।

राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए । उनले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।